FAQs Complain Problems

सूचना र सामान्य नियमावली

नगरपालिकाको संक्षिप्त परिचय

               सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ । यो नगरपालिका ८३२६’ पूर्वी देशान्तर र २७३१’ उत्तर अक्षांशमा अवस्थित छ । कुल क्षेत्रफल ३६.०३ वर्ग कि.मी. ओगटेको यस नगरपालिका समुद्रसतहबाट ११० मिटरको उचाईमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ । अधिकतम तापक्रमः ४५.२० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.४० डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षाः १४३६.५ मि.मि. सम्म भएको पाइएको छ । सिद्धार्थनगर नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” रहेको छ ।
              सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामाकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, सस्कृतिको साझा संगमको रुपमा यो नगरपालिका रहेको छ । वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ । वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । वि.स. २०३३ साल देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका,उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगञ्ज जिल्ला, भारतले सिमाकंन गरिएको छ ।

Pages